धरान: धरान उपमहानगरपालिकाले फुड बैंकमार्फत आज ३ हजार विपन्न परिवारलाई राहत प्याकेज उपलब्ध गराउदैछ । यसको लागि धरानको विभिन्न १३ वटा वडाका विपन्न परिवारहरु छनौट गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरका अनुसार कसलाई राहत दिने भन्ने निर्णय गर्ने अधिकार पनि वडा कार्यालयलाई नै दिइएको छ । यसअघि वडाले पठाएको लगतबाट वास्तविक राहत दिनुपर्ने परिवारलाई मात्र छनौट गरेर वितरण गर्ने बताइएको थियो । तर, सरकारले पठाएको कार्यविधिले वडाअध्यक्षलाई नै वितरण गर्ने जिम्मेवारी तोकेको र जनताको नजिकको सरकार पनि वडा नै भएकोले राहत वितरणको जिम्मा वडा कार्यालयलाई नै दिइने सुचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । 'कसलाई राहत दिने, कसलाई नदिने भन्ने जिम्मा पनि वडाअध्यक्षहरुकै जिम्मा हुन्छ,'खतिवडाले भने ।
धरानमा सबै वडाहरुबाट करिब ६ हजार विपन्न परिवारको नामावली संकलन भएर उपमहानगरपालिकामा पुगेको छ । ती नामावलीहरुमा श्रमिक, ज्यालादारी एवं विपन्न मात्र छैनन् । ती मध्ये विपन्न परिवारको छनौट गर्न उपमहानरलाई झमेला हुने भएपछि कार्यविधिको वहानामा वडा कार्यालयलाई नै वितरणको जिम्मा दिएको हो ।
विभिन्न १३ वडालाई पहिलो चरणमा
उपमहानगरपालिकाले पहिलो चरणमा ३ हजार परिवारलाई राहत वितरणको लागि आवश्यक तयारी गरेको छ । उपमहानगरका अनुसार वडा नं २ मा ५० परिवार, वडा नं ४ मा १७० परिवार, वडा ५ मा ३ सय परिवार, वडा ६ मा २५० परिवारलाई राहत आज दिइनेछ । यसैगरि, वडा ८ मा ३ सय, वडा ९ मा ८० परिवार, वडा ११ मा ३५० परिवार, वडा १३ मा १५०, वडा १५ मा ५ सय, वडा १६ मा ३ सय, वडा १७ मा ३ सय, वडा १९ मा १५० र वडा २० मा १ सय विपन्न परिवारलाई आज राहत वितरण गर्ने तयारी छ । राहत सामग्री वडा कार्यालयहरुलाई नै जिम्मा दिइने र वडाले नै ती राहत आफ्नो वडामा वितरण गर्ने उपमहानगरको भनाई छ ।








