धरान: स्थापनाकालदेखि नै धरानमा भाडाको घरमा सञ्चालनमा रहेको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई भवन बनाउन कार्यपालिकाले २ कट्ठा जग्गा दिने निर्णय गरेपनि मापदण्ड वमोजिम अपुग भएको छ ।
मेयर पदमा हर्क साम्पाङ भएकै बेला धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गतको २ कट्ठा जग्गा ट्राफिकको भवन बनाउन दिने निर्णय भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनाउन कम्तीमा ३ कट्ठा जग्गा आवश्यक पर्ने र मात्रै नेपाल प्रहरीले भवनको लागि बजेट विनियोजन गर्ने भएकोले जग्गा अपुग भएको सुनसरी जिल्ला ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक अनिल मावोहाङले जानकारी दिए ।
प्रहरी निरीक्षक मावोहाङका अनुसार ३ कट्ठा जग्गा प्राप्ती भयो भने नेपाल प्रहरीबाट नै बजेट आएर भवन निर्माण हुनेछ । ‘एक कट्ठा थपेर ३ कट्ठा जग्गा प्राप्त गर्न सकियो भने नेपाल प्रहरी प्रधान कार्यालयबाट नै भवन बनाउने सबै काम हुन्छ,’ उनले भने,‘यसको लागि आवश्यक पहल गरिरहेका छौं ।’

कार्यपालिका सदस्य विकास भाटीले पनि २ कट्ठा मात्र जिल्ला ट्राफिक भवन बनाउन रकम निकासा नहुने भएकोले एक थपेर ३ कट्ठा नै पुर्याउन कार्यपालिका बैठकमा प्रस्ताव लैजान पहल गर्ने बताए । ‘आशा गरौं ३ कट्ठा दिन सकियो भने जिल्ला ट्राफिक प्रहरीको आफ्नै सुविधा सम्पन्न भवन बन्नेछ,’ कार्यपालिका सदस्य भाटीले भने,‘धरानबाट धेरै सरकारी कार्यालय सरेको छ, ट्राफिक पनि सर्ने हल्ला सुन्छौं, तर हामी जिल्ला ट्राफिकको भवन बनाएर धरानमै राख्न सबै लाग्नेछौं ।’
ट्राफिकलाई १७ थान ह्विल लक हस्तान्तरण, जथाभावी पार्किङ गरे लक गर्ने
धरानका कार्यपालिका सदस्य विकास भाटीले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई १७ थान ह्विल लक हस्तान्तरण गरेका छन् । सोमबार ट्राफिक प्रहरी प्रमुख अनिल मावोहाङलाई उनकै कार्यकक्षमा भेटेर कार्यपालिका सदस्य भाटीले ह्विल लक हस्तान्तरण गरेका हुन् ।

सडकमा जथाभावी गाडी पार्किङ गर्ने प्रवृत्ति बढेर सडक झ्न साँधुरो बनाउने र दुर्घटनाको जोखिम बढाउने भएकोले त्यस्ता गाडीहरुलाई कारबाहीको दायरामा ल्याउन ह्विल लक आवश्यक भएकोले प्रदान गरिएको भाटीले बताए । उनका अनुसार कार्यपालिका सदस्य कोषको ५० हजार बजेटले १७ थान ह्विल लक खरिद गरेर प्रदान गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख मावोहाङले ब्यस्त र साधुरो सडकमा जथाभावी पार्किङ गर्नेलाई शुरुवाती चरणमा ह्विल लक गरेपनि एक पटकलाई सम्झाई बुझाई गरेर छोड्ने र दोस्रो पटकमा भने कानुन वमोजिम कारबाही गरिने बताए । ‘शुरुमा एक हप्ता जति सम्झाइ बुझाई गछौं, र त्यसपछि नियम संगत कारबाही गछौं,’ उनले भने,‘धरानको पुतली लाइन, देशीलाइन, भानुचोक मास्तिर, राममन्दिर तल दुवैतिर अनावश्यक, जथाभावी पार्किङ हुन्छ । अब धेरै ह्विल लक पाएकोले कडाई गर्छौं ।’ सवारीधनी तथा चालकहरुले जथाभावी पार्किङ नगर्न आग्रह गर्दै उनले नियम पालना गरेर कानुनी झमेलामा नफस्न पनि अपिल गरेका छन् ।
भिडियो:







