धरान: संसदमा पाँचौं ठुलो दल बनेको श्रम सँस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंग्याउन सकेको छैन ।

कोटा थोरै तर सांसदका आकांक्षीहरु धेरै भएपछि बन्द सुचीमा रहेका समानुपातिक उम्मेद्वारहरु मध्येबाट नाम टुंग्याउन पार्टीलाई सकस भएको हो । अन्य राजनीतिक दलहरुले धमाधम समानुपातिक सांसदको टुंगो लगाइरहेका छन् । तर, श्रम सँस्कृतिले भने कस्लाई बनाउने भनेर औपचारिकरुपमा निर्णय गरेको छैन । 

पार्टीले निर्णय नगरेपनि विभिन्न सञ्चारमाध्यमहरुले भने सिफारिश गरेको भन्दै चार जनाको नाम सार्वजनिक गरेको छ । प्रकाशनमा आएको समाचारहरुमा आदिबासी जनजाति पुरुषबाट भूपू गोर्खा सैनिक पुर्ण लिम्बू, आदिबासी जनजाति महिला क्लष्टरबाट मन्दिरा मोक्तान, खसआर्यबाट अम्बिका संग्रौला र दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेलको नाम सिफारिश भएको उल्लेख छ । 

तर पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले भने समाचारहरुको खण्डन गर्दै समानुपातिक सांसदबारे निर्णय भइनसकेको बताएका छन् । ‘आधिकारिक को को हो भनी निर्णय भैसकेको छैन । तयारी मात्रै भैराछ है ! समानुपातिकबारे धेरै हतार समाचार बनाइहाल्नु पदैन,’ अध्यक्ष साम्पाङले फेसबुकमा लेखेका छन् । 

निर्णय गर्न किन भैरहेछ ढिलाई ?

नेताहरुका अनुसार कोटा थोरै र आकांक्षीहरु धेरै भएपछि समानुपातिक सांसदको सिफारिश निर्वाचन आयोगमा पठाउन ढिलाइ भएको हो । यो पार्टीले अनिवार्य ३ जना महिला र एक पुरुषको नाम क्लष्टरसमेत मिलाएर पठाउनुपर्ने हुन्छ । 

केही दिनदेखि समानुपातिकको बिषयले अध्यक्ष साम्पाङ तनावमा छन्, र उनले रोइलो गर्नेहरुलाई पार्टीबाट निष्काशन गर्ने चेतावनीसमेत सामाजिक सञ्जालमार्फत दिनुपरेको थियो । नेताहरुका अनुसार खसआर्य पुरुषतर्फ पहिलो नम्बरमा रहे पनि समानुपातिक सांसदमा नपर्ने निश्चित भएपछि जीवन विष्टले नाम फिर्ता लिने घोषणा गरेका छन् भने आदिबासी जनजाति महिलातर्फ बन्द सुचीमा दोस्रो नम्बरमा रहेकी मीना सिंगकले पनि नाम फिर्ता लिने घोषणा गरेकी छिन् । 

पार्टीले शुरुमा आदिबासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका भुपू गोर्खा क्याप्टेन पुर्ण लिम्बू र खस आर्यतर्फ पहिलो नम्बरमा रहेका जीवन बिष्टलाई सांसदमा सिफारिश गर्न चाहेको थियो । तर, निर्वाचन आयोगबाट अनिवार्य ३ महिला हुनुपर्ने भएपछि पुरुषतर्फ भूपू सैनिकहरुको प्रतिनिधित्व गराउने गरि अध्यक्ष साम्पाङको प्राथमिकतामा भूपू गोर्खा सैनिक क्याप्टेन लिम्बू परेको स्रोतको भनाई छ ।

अध्यक्षको मनसाय बुझेर नै जीवन बिष्टले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन् । उनले नाम फिर्ता लिएपछि पुरुषमा क्याप्टेन लिम्बूको नाम सिफारिश हुने निश्चित भएको पार्टीका नेताहरु बताउछन् । ‘तर, महिलाहरु कुन क्लष्टरबाट को को पठाउने भनेर टुंगो लाग्न बाँकी छ,’ एक केन्द्रीय सदस्यले भने,‘हुन त अहिले चर्चामा आएको नामहरु नै पर्ने सम्भावना छ, तर निर्णय भएको छैन । महासचिव धरान आउदै हुनुहुन्छ, भोली (आइतबार) बैठक बसेर निर्णय गर्ने कुरा भएको छ ।’