धरान: लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाउने ६ जना चालक प्रहरी नियन्त्रणमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार धरानको तीनकुनेमा लापसे चेकजाँच गर्ने क्रममा ६ जनाले लापसे (लागुपदार्थ सेवन) गरेर सवारी चलाएको भेटिएको थियो । स्वास्थ्यकर्मीसहितको टोलीले परीक्षणको क्रममा लापसे गरेर सवारी चलाएको पुष्टि भएपछि उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानलाई बुझाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक अनिल मावोहाङले जानकारी दिए । 

प्रहरी निरीक्षक मावोहाङका अनुसार कुल ३३ जनालाई चेकिङ गरिएको थियो, ती मध्ये एक जनाले मापसे (मादक पदार्थ सेवन) गरेको पुष्टि भएको थियो भने ६ जनाले लापसे (लागुपादर्थ सेवन) गरेको पुष्टि भएको थियो । ‘दिउँसो १ बजेबाट बस, माइक्रो, टेम्पो, सिटी र मोटरसाइकललाई फोकस गरेर लापसे चेकिङ गरेको हो,’ उनले भने,‘३३ जनामा चेकिङ गर्दा ६ जनाले लापसे र एक जनाले मापसे गरेको भेटियो । लापसे गरेकाहरुलाई आवश्यक कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्याल पठाएका छौं ।’

lapase2

लापसे चेकिङमा ट्राफिक प्रहरीलाई धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका स्वास्थ्यकर्मी र विजयपुर हस्पिटलका डाक्टरले सहयोग गरेको थियो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एवं एसपी दिपक गिरीका अनुसार सार्वजनिक सवारीसाधनका चालकहरुले लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने र त्यसले दुर्घटनाको जोखिम भएको गुनासो आएपछि लापसे चेकिङ गरिएको हो ।

‘विगतमा पनि हामीले तरहरा, मोरङको निमुवा, काकडभिट्टालगायत स्थानहरुमा चेकिङ गरेका छौं, पोजेभिट भेटिएकाहरुलाई कानुनी कारबाहीमा पठाएका पनि छौं,’ एसपी गिरीले भने,‘म चालकहरुलाई अपिल गर्छु कि कृपया सवारी चलाउदा लागुपदार्थ, मादक पदार्थ सेवन नगर्नुहोला, त्यसले जिउधनको गम्भीर क्षति हुन्छ । सडक प्रयोगकर्ता र पैदलयात्रुहरुले पनि सडक नियम जान्नुपर्छ र मान्नुपनि पर्छ।’

भिडियो:

भिडियो:

भिडियो: