धरान: विश्वभर कोरोना भाइरस(कोभिड १९)को कारण लकडाउन भएपछि उद्योगहरु नचल्दाको प्रभाव धरान बजारमा पनि देखिन थालेको छ ।
अहिले धरान बजारमा दाल, गेडागुडी र खाने तेलको चरम अभाव शुरु भएको छ भने सस्तो मुल्यका चामलहरु पनि पाउन छोडेको छ । यसले लकडाउनबाट समस्यामा परेका विपन्न परिवारहरुको लागि राहत वितरणमा पनि असर परेको छ । राहतको लागि आवश्यक खाने तेल र दाल नपाउदा स्थानीय तहहरुलाई समस्या छ । धरान उपमहानगरपालिकाले शनिबार राहत वितरण गर्नको लागि सय केजी दाल विराटनगरबाट ल्याउनु परेको थियो । शनिबार नेकपा धरानले राहतको लागि दाल सहयोग गर्न चाहे पनि नपाए पछि न्युटेला दिनुपरेको थियो । ‘राहतको लागि पनि दाल, तेलको धेरै माग छ, तर बजारमा छैन,’उपमेयर मञ्जु भण्डारी सुवेदीले भनिन्,‘राहतको प्याकेजमा दाल र तेल नै फेर्नुपर्ने अवस्था आउन लाग्यो ।’
सुनसरी उद्योग वाणिज्य संघका अनुसार बजारमा अझै एक महिनाको लागि चामल भए पनि दाल र तेल सकिएको छ । चामल पनि महंगो मुल्यको मात्र बजारमा पाइन्छ । गोदाममा धान भएपनि मिल नलेपछि चामल उत्पादन नभएको संघका वाणिज्य सचिव सिताराम आचार्यले बताए । ‘सस्तो मुल्यको चामल ज्यादै कम छ । दाल र तेल त शुन्य भइसकेको छ,’आचार्यले भने,‘चैत ११ गतेयता सामानहरु आएको छैन, उद्योगहरुमा पनि कच्चा पदार्थ नभएर चलेको छैन ।’
वाणिज्य सचिव आचार्यका अनुसार धरानमा दुहबी, सोनापुर, खनार, विराटनगरलगायत ठाउँमा उत्पादन भएको दाल, तेल, चामलगायत खाद्यान्नहरु आउने गर्छ । अहिले त्यहाँका उद्योगहरु पनि कच्चा पदार्थको अभावले चल्न सकेको छैन । अधिकांशको कच्चा पदार्थ कलकत्ता बन्दरगाहमा अड्किएको छ । नेपाल आउन नसके पछि उद्योग नचलेर उत्पादन नभएर बजारमा अभाव भएको उनले बताए । ‘चालम अझै एक महिना धान्न सकिन्छ । तर, तेल र दाल ज्यादै कम्ती छ । दाल नभए पनि हरियो तरकारी आइरहेकोले त्यसैले धान्नुपर्ने अवस्था छ,’उनले भने, ‘त्यसैले घरमा जे जस्तो छ त्यसैलाई उपभोग गरौं ।’उनले खाद्यान्न अभाव देखिए पनि लकडाउन अघिकै मुल्य रहेको र वृद्धि नभएको दाबी गरे ।







