धरान: सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वारलाई जिताउन ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चुनावमा होमिएको छ । 

उक्त पार्टीले संविधानसभा सदस्य किरण साम्पाङ राई संयोजक बनाएर सुनसरी क्षेत्र नं १ मा निर्वाचनमा होमिएको हो । सुनसरी १ मा नेकपाबाट सुर्यबहादुर भट्टराई (मनोज) प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार छन् । धरानको वडा नं १७ मा दोस्रो पटक वडाअध्यक्षमा निवार्चित भएका भट्टराईले पदबाट राजिनामा दिएर उम्मेद्वार बनेका हुन् ।

शुक्रबार धरान १२ स्थित होटल गोर्खामा कार्यक्रम आयोजना गरि नेकपाले समिति घोषणा गर्दै उम्मेद्वार भट्टराईलाई जिताउन निर्वाचनमा होमिएको हो । समितिको सदस्य सचिवमा जीवन राई रहेको नेकपाका नेता चोत्लुङले जानकारी दिए । 

प्रचारप्रसार समिति संयोजकको जिम्मेवारी पाएका चोत्लुङका अनुसार केन्द्रीय सदस्यहरु, सुनसरी–१ अन्तर्गतका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य तथा नगर कमिटीका पदाधिकारी र सदस्यहरू समेटेर निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । 

समिति अन्तर्गत विभिन्न उपसमितिहरु पनि गठन गरिएको नेकपाले जनाएको छ । अनुगमन समिति संयोजकमा मुक्साहाङ मेन्याङ्बो (मुकेश) रहेका छन् भने युवा परिचालन संयोजकमा चिन्तन भुजेल, महिला परिचालन संयोजकमा उमिता बराईली, आर्थिक संयोजकमा उद्धव लिम्बूलगायतले जिम्मेवारी पाएका छन् । 

manoj bhatrai

कार्यक्रमलाई सम्बोधन गर्दे उम्मेद्वार भट्टराईले केही व्यक्तिहरुलाई धरानलाई सिमित जाति, धर्म र समुदायको मात्र बनाउन खोजेको भन्दै त्यसको विरुद्धमा धराने जनता मतदान गर्न आतुर भइ फागुन २१ को प्रतिक्षामा रहेको बताए । 'एउटा अराजकता विरुद्ध, एउटा असभ्यताविरुद्ध तपाई हामीले जुध्नुपर्ने छ । केही वेमेलहरु हटाउदै बाहिरी आक्रमण हुँदा दाजुभाई मिलेर सामना गर्नुपर्नेछ,' उनले भने, 'अराजकताविरुद्ध  धरानका हरेक जाति, हरेक भाषी, हरेक पार्टीका मानिस मतदात गर्न आतुर हुनुहुन्छ । तारा चिह्नको उम्मेद्वारलाई जिताउन आतुर हुनुहुन्छ ।'

धरान पुर्वी पहाडी जिल्लाको केन्द्रविन्दु र आशाको केन्द्र भएको उल्लेख गर्दे भट्टराईले भने,'यो धरान सबै नागरिकको धरान हो, धरानेहरुको धरान हो, यो बनाइराख्ने दायित्व हाम्रो काँधमा छ ।'

सुनसरी १ मा भट्टराईसँगै श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवं धरानका निवर्तमान मेयर र्कराज राई, एमालेका टिकाराम माङ्लेन, कांग्रेसका सुजेन्द्र तामाङ, रास्वपाकी गोमा तामाङ ९सरिन०, राप्रपाबाट उद्धव श्रेष्ठ, नेमकिपाबाट महेश श्रेष्ठलगायतले उम्मेद्वारी दिएका छन् ।