धरान: धरान खानेपानी बोर्डका अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले बोर्डलाई पारदर्शी बनाउन र छिटोछरितो सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् । 

बोर्डको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दे बेघाले एक साताभित्र बेवसाइट शुरुवात गर्ने र आयव्ययलगायत सबै सुचनाहरु नियमितरुपमा राखेर जानकारी दिने बताए । 

बोर्डको बेभसाइटबाट सूचना तथा जानकारीका अतिरिक्त सेवाग्राहीहरुको निबेदन फारामहरु समेत डाउनलोड गर्न सकिने पनि बेघाले जानकारी दिए । 'त्यहाँबाट सेवाग्राहीहरुले आफ्नो अभिलेख हेर्न, बिल भुक्तानी गर्न पनि सक्नेछन्,' उनले भने, 'सेबाग्राहीहरु निवेदन तथा प्रशासनिक कार्य गर्न नगरपालिका जानुपर्ने बाध्यता रहेछ, आजकै मितिबाट त्यो हट्छ, र यहीबाट सबै काम हुन्छ । म कहाँ आइरहनुपदैन ।'

लेखा प्रणालीमा पारदर्शिता कायम गर्न बोर्डको आर्थिक कारोबारको अडिट पनि एकसातामा गर्ने बेघाले बताए । बोर्डलाईं आवश्यक पर्ने ऐन, नियम तया कानूनहरु निर्माणको  प्रकृया शुरु गर्ने, प्रत्येक महिना बोर्डको आर्थिक विवरण प्रकाशन गर्ने पनि उनले बताए । 

हर्क साम्पाङको अभियानबाट थपिएको पानी २० लाख लिटर  मात्र

बोर्डका अध्यक्ष बेघाले हाल धरानमा खानेपानीको स्रोतहरुबाट के कति पानी उत्पादन भइरहेको छ भनेर तथ्यगत जानकारी पनि दिएका थिए । उनका अनुसार भुमिगत र सतहगत स्रोतहरुबाट हाल प्रतिदिन २ करोड ४० लाख लिटर पानी आपूर्ति भइरहेको छ । ती मध्ये हर्क साम्पाङको नेतृत्वको बेला विभिन्न अभियानबाट आपूर्ति भएको पानी २० लाख लिटर मात्र भएको पनि बेघाले जानकारी दिए । 

'निवर्तमान नगर प्रमुखले धरानको खानेपानी बोर्डमा उहाँको नेतृत्वमा २० लाख लिटर पानी सहीसाचो हो, अहिलेको समयमा । बाँकी २ करोड २० लाख लिटर पानी पुरानै पम्प, सिस्टमबाट उत्पादन भएको हो,' उनले भने, '२० लाख  लिटर पानी धराने जनतालाई नै छोडेर जानुभएको छ, बोकेर लानुभएको छैन । पुरानै मुहानबाट २ करोड २० लाख लिटर आइरहेकै थियो, तर पुगेको थिएन । कसैलाई हिलो छ्यापेर पानी आउने होइन, जति पानी छ, त्यो न्यायोचितढंले वितरण गरिनेछ, चुहावट रोकिनेछ ।' 

kokaha click1

बेघाका अनुसार भुमिगत स्रोतहरुमध्ये उदय सामुदायिक वन क्षेत्रको ३ वटा वेलबाट प्रतिदिन १७ लाख लिटर पानी उत्पादन भइरहेको छ । यस्तै, चारकोसे जंगलमा ११ वटा वेलबाट प्रतिदिन १ करोड ४० लाख लिटर पानी उत्पादन भइरहेको छ । यसैगरि, सतहको स्रोत सर्दु र खर्दुबाट प्रतिदिन ६० लाख लिटर पानी आपूर्ति भइरहेको छ भने निसानेबाट ३ लाख, कोकाह (भाग १र २) बाट १० लाख लिटर प्रतिदिन पानी आपूर्ति भइरहेको  छ।

यस्तै, नयाँ निर्माण भएको ३० लाख लिटरको ट्याङ्कीबाट हाल दैनिक ४ लाख लिटर, भालु खोलाबाट २ लाख, पकुवा खोलाबाट २ लाख लिटर पानी प्रतिदिन आपूर्ति भइरहेको पनि बोर्डका अध्यक्ष बेघाले जानकारी दिए । यस्तै, कोकाह र उपभोक्तासँगको सम्झौताबाट २ लाख लिटर गरि प्रतिदिन पानी आइरहेको पनि उनले खुलाए । प्रदेश सरकारको सहयोगमा बनेको ३ वटा वेलबाट कम्तीमा ४० लाख लिटर पानी थपिने भएपनि हाल ती वेलहरु सञ्चालनमा भने आइनसकेको पनि बेघाले बताए । ती वेलहरु चाडै सुचारु गर्ने उनको भनाई थियो । 

कोकाह १ र २ को हिसाब किताब बोर्डमा छैन

निवर्तमान नगर प्रमुख एवं खानेपानी बोर्डका अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा श्रमदान अभियान चलाएर ल्याएको कोकाह भाग १ र २ को खर्चको हिसाबकिताब खानेपानी बोर्डमा नभएको पनि अध्यक्ष बेघाले बताए । कोकाहको पानीलाई व्यवस्थितढंगले धराने जनतालाई उपभोग गर्ने वातावरण बनाउन भने लागिपर्ने उनले बताए । 

‘थुप्रै खर्च भएको भन्ने सुनेका छौं, तर कोकाह प्रोजेक्टमा लागेको हिसाब किताब खानेपानी बोर्डमा छैन,’ बेघाले भने,‘कति लाख, कति करोड लाग्यो । पाइप लागेको थाह छ, तर अंकको बारेमा फर्मल थाह छैन ।’

begha & board

कोकाह प्रोजेक्ट शुरु हुँदा पम्पले लिफ्ट गरेर विष्णुपादुकाको डाँडामा चढाउने र त्यहाँबाट ग्राभेटी फ्लोमा नै पानी ट्यांकीमा ल्याउने विकल्पमा छलफल भएको पनि बेघाले खुलाए । ‘एक लिफ्टले कोकाहको पानी डाँडामा फाल्छ, त्यसपछि सजिलै पानी आइपुग्छ भन्ने थियो र सुझाव पनि दिएका थियौं । तर लामो रुट भएर आएको छ,’ उनले भने,‘पिउन मिल्ने पानी उहाँको नेतृत्वमा ट्यांकीमा झरेको चै सही, साँचो हो । पानी अभाव भएको बेला गलत भयो भन्न सक्दैनौं तर त्यसको हिसाबकिताब खानेपानी बोर्डमा छैन ।’ उनले पानीको मुहान संरक्षण गर्ने, पिउन लायक बनाउने र पानी आएवापत धन्यवाद भने दिनुपर्ने पनि बताए । 

बोर्डका अध्यक्ष बेघाले खानेपानीको दीर्घकालिन समाधान गर्न सप्तकोशीको पानी ल्याउने योजनालाई नै अघि बढाउनु उचित हुने पनि बताए । ‘राज्यको लगानी भएर डिपिआर भइसकेको अवस्थामा त्यही योजनालाई अघि बढाउन उचित हुन्छ, तर ऋण धराने जनतालाई नबोकाउने गरि हुनुपर्छ,’ उनले भने । 

भिडियो: