धरान: चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)सँग कुराकानी गरेको खुलेको छ । 

धरान ८ सभागृहस्थित सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार फोन सम्पर्क गर्दा साम्पाङले आफु धरान बाहिर भएको र आएपछि कार्यालय आउने जानकारी गराएका छन् । ‘यो घटनालाई गम्भीरतापुर्वक लिएको छ भन्यौं, उहाँले बालबालिका स्वतस्फुर्तरुपमा आएको हो, प्रचार गराउने, हिडाउने निर्देशन मैले दिएको छैन भन्नुभयो,’ घिमिरेले भने,‘म बाहिर छुँ, फर्केपछि कार्यालय आउछु भन्नु भएको छ । बालबालिका प्रयोग हुदैन भनेर प्रतिवद्धता पनि जनाउनुभएको छ।’

साम्पाङले सुनसरी क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका छन् । उनी पार्टीको अभियान लिएर आइतबार पोखरा पुगेका छन् । हालै उनको सम्पर्क कार्यालय धरानको ग्रिन टीमा श्रम सँस्कृति पार्टीको टिसर्ट लगाएका बालबालिकाहरुको भिडियो र फोटो सार्वजनिक भएपछि चुनावी प्रचारप्रसारमा बच्चाहरुलाई दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । नगर बाल सञ्जालले आइतबार निर्वाचन अधिकृतको कार्यालय र प्रहरी कार्यालयमा लिखित उजुरीसमेत दिएको थियो । 

उक्त पार्टीको केन्द्रीय सदस्य एवं साम्पाङको सचिवालयकी नेतृ मीना सिंगकले पनि बालबालिकाहरु चुनावी प्रचारमा नहिडेको दाबी गरिन् । बच्चाहरुले श्रमदानको टिसर्ट लगाउने रहर गरेपछि अभिभावकहरुले नै ल्याएको र अमेरिकाबाट दाताले प्रायोजन गरेको टिसर्ट लगाएर फोटो, भिडियो खिचेको उनले बताइन् । ‘त्यो टिसर्ट लगाएर दातालाई देखाउनको लागि मात्र भिडियो, फोटो खिचेको हो, चुनावी प्रचारप्रसारमा हिडाउन होइन,’ उनले भनिन्,‘हर्क साम्पाङले बालबालिकालाई लिएर नआउनु, चुनावी अभियानमा नहिडाउनु भनेर निर्देशन दिएको भिडियो नै पनि छ । राम्रो कुरा नबुझी उजुरी हाल्ने काम भयो ।’