धरान: निवर्तमान मेयर एवं खानेपानी बोर्डका अध्यक्ष हर्क साम्पाङले प्रदेश सरकारको सहयोगमा वेलबाट उत्पादन भएपनि ट्रंकलाइनमा जोडेर वितरण गर्न नरुचाएको पानीलाई खानेपानी बोर्डले वितरण गर्ने भएको छ ।
खानेपानी बोर्डका अध्यक्ष एवं कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा, प्रदेश सांसद रमेश बस्नेत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीका प्रमुख विकास काफ्लेसहितको टोलीले स्थलगतरुपमा पानी उत्पादनको परीक्षण गरेका थिए । यसअघि निवर्तमान मेयर साम्पाङको पालामा पनि परीक्षण गरिएको थियो । तर, साम्पाङले ‘टेक्निकल अडिट’ विना जिम्मा नलिने भनेपछि वितरण प्रणालीमा जडान नभै प्रदेशको यो प्रोजेक्ट थन्किएको थियो ।
प्रदेश सरकारले २ आर्थिक बर्षमा गरि ३ वटा वेल बोरिङ, पानी उत्पादन र जडानसमेत गर्ने गरि बजेट दिएको थियो । एउटा वेलबाट २० लिटर प्रतिसकेण्ड (चौबिस घण्टामा २० लाख लिटर) गरेर तीन वटाबाट कम्तीमा ४० देखि ६० लाख लिटर पानी थपिने बोर्डले जनाएको छ । ठेकेदार कम्पनीले अब एउटा बुस्टर पम्प थपिएपछि १५ दिनभित्र जडान गरेर उत्पादन भएको पानी २० दिनभित्र उपभोक्ताको घरमा पुग्ने बोर्डका अध्यक्ष एवं कार्यवाहक मेयर बेघाले बताए । ‘तीन वटा वेलबाट कम्तीमा पनि ४० लाख लिटर पानी थपिनेछ, अबको २० दिनभित्र घरमा पानी पुर्याउछौं,’ उनले भने ।

प्रदेश सांसदद्धय रमेश बस्नेत र विजयकुमार राईको बिशेष पहलमा प्रदेश सरकारले अघिल्लो २ आर्थिक बर्षमा धरानको खानेपानीको लागि बजेट विनियोजन गरेको थियो । कोशी राजमार्गको धरान इटहरी सडकखण्डको जंगलमा २ वटा डिप बोरिङ गरिएको छ भने एउटा धरान १७ कुम्भीआहाल क्षेत्रमा बोरिङ गरिएको छ ।
प्रदेश सांसद बस्नेतले पनि धरानको खानेपानी समस्या दीर्घकालिनरुपमा समाधान नभएसम्म तत्कालको लागि हल गर्न बोरिङबाट भएपनि उत्पादन गर्ने गरि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए । विविध कारणले जडान गर्न र वितरणमा ढिलाई भएपनि अब केही हदसम्म पानीको आपूर्ति सहज हुने भन्दै उनले खुशी व्यक्त गरे ।

प्रदेश सरकारले आर्थिक बर्ष २०८०/८१ मा तीन वटा डिप बोरिङ गर्नको लागि कुल ४ करोड बजेट विनियोजन भएको थियो । ठेक्कामार्फत १ करोड ५१ लाख ४५ हजार ९०९ रुपैयामा ३ वटा डिपबोरिङ गरिएको थियो । यस्तै, आर्थिक बर्ष २०८१/८२ मा इलेक्ट्रोमेकानिकल कार्य गर्न कुल ३ करोड ३० लाख बजेट विनियोजन गरिएको थियो । तर, ठेक्कामार्फत उक्त काम २ करोड ७९ लाख ४० हजार ४१ रुपैयामा सम्पन्न भएको थियो ।
भिडियो:







