धरान: उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पुर्वमन्त्री कुलमान घिसिङले देशको हरेक क्षेत्रमा भएको लोडसेडिङ अन्त्य गर्न उज्यालो नेपाल पार्टी आएको बताएका छन् ।
चुनावी अभियानको क्रममा बिहिबार धरान आइपुगेका घिसिङले भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफु प्राधिकरणको नेतृत्वमा रहदा विद्युतको लोडसेडिङ मात्र अन्त्य भएको उल्लेख गर्दै अब सबै क्षेत्रको लोडसेडिङ अन्त्य गर्न उज्यालो नेपाल पार्टी आएको बताए । ‘लोडसेडिङ एउटा अन्त्य गरेर आयौं, तर देशभित्र धेरै किसिमको लोडसेडिङ छ,’ उनले भने,‘रोजगारीको लोडसेडिङ, गरिबीको लोडसेडिङ, सुशासन र भ्रष्टचारको लोडसेडिङलाई पनि अन्त्य गरेर उज्यालो नेपाल बनाउन आएको हो ।’
देश र आर्थिक परिवर्तन गर्न उज्यालो नेपाल आएको जिकिर गर्दै घिसिङले प्राधिकरण नेतृत्वमा रहदा गाउँ गाउँमा विद्युत पुर्याएको, घाटाको संस्थालाई नाफामा बनाएको दाबी गरे । यस्तै, जलविद्युतलाई भारत र वंगलादेशसम्म बेच्न सफल भएको उल्लेख गर्दै उर्जा क्षेत्रमा ठुलो रुपान्तरण भएको बताए । ‘अब देशको रुपान्तरण गर्नूपर्छ, उज्यालो नेपालको लागि देशको रुपान्तरणको लागि नै उज्यालो नेपाल पार्टी दर्ता गरेका छौं,’ उनले भने,‘काम गरेर परिणाम दिएर आएका छौं, गफ गरेर होइन । समग्र क्षेत्रलाई उज्यालो बनाउन, हरेक नेपालीको मुहारमा उज्यालो ल्याउन आएको पार्टी हो यो ।’
घिसिङले भ्रष्टचारमुक्त, सुशासनयुक्त समाज बनाउन, विकृति र विसंगति हटाई देशलाई समृद्ध बनाउन, रोेजगारी सृर्जना गरेर युवाहरु विदेश जान नपर्ने अवस्था सृर्जना गरेर आर्थिकरुपमा आत्मनिर्मर बनाउन आफुहरु पार्टी खोलेर आएको बताए । उनले धरानको स्थानीयस्तरको समस्याहरुलाई पनि समाधान गर्ने प्रतिवद्धता जनाउदै त्यसको लागि उम्मेद्वार डम्बर लावती (जेन्टल)लाई जिताएर प्रतिनिधिसभामा पठाउन पनि आग्रह गरे ।
‘हामीलाई जिताएर आगामी सरकारको नेतृत्वमा पुर्याउनुहुनेछ भन्ने विश्वास छ । अरुले बोल्छन्, तर कार्यान्वयन गर्दैनन् । हामी नै हो, काम गरेर परिणाम देखाएर आएको पार्टी,’ उनले भने,‘यहाँ जलाधार र सहकारीको समस्या ठुलो छ । तमोर सुरुङ मार्गदेखि विद्युतको लाइन स्थानन्तरण गर्नुपर्ने समस्या पनि छन्, त्यो समाधान गर्न हामीलाई मतदान गर्नुपर्छ । देशको समग्र क्षेत्रको विकासको लागि मत दिनुपर्छ ।’
घिसिङले मत मात्र नभै देशको विकास र समृद्धिको लागि अब पार्टी नै पनि परिवर्तन गर्नुपर्ने समय आएको बताए । पुराना पार्टीहरुबाट समृद्धि सम्भव नभएको पनि घिसिङले बताए । ‘भोट मात्र होइन, पार्टी पनि परितर्वन गर्नुस् । पुराना पार्टीबाट केही हुनेवाला छैन । उज्यालो नेपाल पार्टी लिएर आएका छौं, जसले परिणाम दिइसकेको छ,’ उनले भने ।
भिडियो:







