धरान: धरान वितरक संघले धरान १६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयका छात्राहरूलाई महिनावारी स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सेनिटरी प्याड वितरण गरेको छ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रसूति तथा स्त्रीरोग विभागकी एसोसिएट प्रोफेसर डा. ज्योत्सना यादवले महिनावारी स्वास्थ्य सम्बन्धी जानकारीमूलक प्रशिक्षण दिएकी थिइन् । 

धरान वितरक संघका अध्यक्ष विजय मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष नवीन कुमार तामाङ प्रमुख अतिथि रहेका थिए । त्यसैगरी विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष दिवा श्रेष्ठ, नेपाल वितरक महासंघका केन्द्रीय सदस्य विक्रम शर्मा तथा धरान वितरक संघका संस्थापक अध्यक्ष युगल कुमार श्रेष्ठ विशिष्ट अतिथिकारूपमा रहेका थिए ।

कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक मैया खड्का (भट्टराई)सहित धरान वितरक संघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। स्वागत मन्तव्य राख्दै नेपाल वितरक महासंघ सचिवालय सदस्य विक्रम शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष दिवा श्रेष्ठले यस्ता कार्यक्रमले छात्राहरूलाई महिनावारी स्वास्थ्यबारे आवश्यक जानकारी प्रदान गर्दै उनीहरूको स्वास्थ्य संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । 

प्रमुख अतिथि तामाङले बालिकाहरू देशको भविष्य भएकाले उनीहरूको स्वास्थ्य र सचेतनाका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । कार्यक्रमको समापन गर्दै अध्यक्ष विजय मानन्धरले विद्यालय परिवार, बीपीकेआईएचएसका चिकित्सक तथा कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । 

सो अवसरमा छात्राहरूलाई सेनिटरी प्याड वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन धरान वितरक संघका उपाध्यक्ष राम राजभण्डारीले गरेका थिए ।