धरान: दुई दिने कोशी प्रदेशस्तरीय खुल्ला प्रो–एम गल्फ प्रतियोगिता शुरु भएको छ ।
धरान १८ स्थित धरान गल्फ क्लबको कोर्षमा शुरु भएको प्रतियोगिताको उद्घाटन कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले गरेका थिए । प्रतियोगिताको पहिलो दिन प्रोफेस्नल स्पर्धा भएको थियो भने भोली (दोस्रो) दिन एमेच्योर स्पर्धा हुने आयोजक गल्फ संघका सदस्य एवं प्रतियोगिता संयोजक लोकेन्द्र चाम्लिङ राईले जानकारी दिए ।
पहिलो दिन शुक्रबार पार ७० को गल्फ कोर्षमा सम्पन्न भएको प्रोफेस्नल स्पर्धामा कुल ३ अण्डर ६७ स्कोर गर्दै सुमन परियार विजेता भएका छन् । उनले फ्रन्ट नाइनमा १ अण्डर ३५ को कार्ड बनाए भने ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाएका थिए ।

यस्तै, एक स्ट्रोकले पछि परेका सुमन राईले कुल २ अण्डर ६८ स्कोर गर्दै दोस्रो भएका छन् । उनले फ्रन्ट नाइनमा ३ अण्डर ३३ को कार्ड बनाए पनि ब्याक नाइनमा १ ओभर ३५ को कार्ड बनाए ।
यसैगरि, टंकबहादुर कार्की र राजकुमार राई (राजेन) समान कुल १ अण्डर ६९ स्कोरका साथ तेस्रो भए । टंकले फ्रन्ट नाइनमा २ अण्डर ३४ को कार्ड बनाए पनि ब्यान नाइनमा १ ओभर ३५ को कार्ड बनाए । राजकुमारले पनि फ्रन्ट नाइनमा ४ अण्डर ३२ को उत्कृष्ट कार्ड खेलेपनि ब्याक नाइनमा ३ ओभर ३७ को खराब कार्ड बनाएका थिए ।

यस्तै, थामबहादुर राई कुल इभन पार ७० को कार्ड बनाउदै पाँचौ स्थानमा रहदा सविन सापकोटा २ ओभर ७२ स्कोर खेल्दै छैटौं स्थान भए । सुमन सापकोटा ४ ओभर ७४ को स्कोर गर्दै सातौं र बलभद्र राई ८ ओभर ७८ स्कोरका साथ आठौं स्थानमा रहे ।
धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा शनिबार एमेच्योर स्पर्धामा ४५ भन्दा बढी खेलाडीहरु सहभागी हुने अनुमान गरिएको आयोजक धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले जानकारी दिए । शनिबार एमेच्योर स्पर्धा पछि पुरस्कार वितरण समारोह हुनेछ ।
भिडियो:







