धरान: फागुन २१ गतेको निर्वाचनको लागि फागुन ४ गतेदेखि मात्र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार र घरदैलो गर्न पाउने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
धरान ८ सभागृहस्थित सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसर अहिले राजनीतिक दल वा उम्मेद्वाहरुले एक दुई जना गएर आफ्ना मतदाताहरुलाई भेटघाट गर्न मात्र पाउछन् ।
‘अहिले व्यक्तिगतरुपमा एक दुई जना गएर म पनि उम्मेद्वार छु है भन्न पायो, तर झण्डा लिएर धेरै जना सहभागी भएर प्रचारप्रसार गर्न पाउने स्थिति छैन,’ उनले भने,‘फागुनको ४ गतेदेखि फागुन १८ गते १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउछ ।’
धरानमा अचारसंहिता उल्लंघन भइरहेको प्रसंग पत्रकारहरुले उठाएपछि अधिकृत घिमिरेले मुख्य निर्वाचन अधिकृत संयोजक रहेको अनुगमन समिति रहेको र सोही समितिले अनुगमन गर्ने बताएका थिए । ‘निर्वाचन आचारसंहिता अनुगमन समिति रहेको छ । हामी सबै ठाउँमा पुग्न सक्दैनौं । आचारसंहिता उल्लंघन गरेको छ भन्ने लागेको छैन,’उनले भने,‘यदि त्यसो भएको छ भने उहाँहरुले आफुले आफैलाई कानुनको वर्खिलाप गरिरहेको अवस्था हो । किनभने भोलीको कानुन बनाउने त उहाँहरु नै हो, अहिले नै उल्लंघन गर्नुभयो भने जनताले कतिको विश्वास गर्छन्, त्यो मुल्यांकन जनताले गर्छन् ।’
श्रम सँस्कृति पार्टीले चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको उजुरी निर्वाचन आयोगमा पठाइदिएको र आयोगले स्पष्टीकरण सोधेको जानकारी पनि उनले दिए । उनले उजुरी परेको खण्डमा यहाँबाट कारबाही गर्न नसकिने पनि स्पष्ट पारे ।
सुनसरी १ मा ४१ मतदानस्थल, १६१ मतदान केन्द्र

निर्वाचन अधिकृत घिमिरले सुनसरी क्षेत्र नं १ मा ४१ मतदानस्थल र १६१ मतदान केन्द्र रहने पनि जानकारी दिए । उनका अनुसार यो निर्वाचन क्षेत्रमा कुल १ लाख ५० हजार ३९३ मतदाता संख्या रहेको छ । यो निर्वाचन क्षेत्र अन्तर्गत धरानको २० वटै वडा, बराहक्षेत्र नगरको १ देखि ५ वटा वडा र रामधुनी नगरको वडा न. ६ र ७ पनि रहेका छन् ।
फागुन २१ गतेको निर्वाचनको लागि १९ राजनीतिक दल र ७ स्वतन्त्र गरि कुल २६ जना उम्मेद्वार रहेको पनि अधिकृत घिमिरेले जानकारी दिए । ती मध्ये मनोनयन दर्ता गर्ने कान्छो उम्मेद्वार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३१ बर्षीय राजकुमरा लिम्बू छन् भने ज्येष्ठ उम्मेद्वार ६८ बर्षीय भूपि राई रहेको पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
हालसम्म कार्यालय स्थापनादेखि उम्मेद्वारी मनोनयन, अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान र उम्मेद्वारहरुलाई परिचयपत्र वितरणसम्मको कामहरु सम्पन्न भइसकेको पनि अधिकृत घिमिरेले जानकारी दिए । अब चाडै आचारसंहितालगायत विविध बिषयमा उम्मेद्वार तथा उम्मेद्वारका प्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रम गर्ने पनि उनले बताए । ‘मतदान केन्द्रको निरीक्षण र अनुगमन गर्न, मतदान केन्द्रमा कर्मचारी खटनपटन गराउने कामहरु गर्नेछौं,’ उनले भने ।
भिडियो:







