धरान: २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा एपि पावर चर्च ब्वाइज युनाइटेड फाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा बिहिबार भएको अन्तिम सेमीफाइनल खेलमा झापा ११ लाई टाइब्रेकरमा स्तब्ध बनाउदै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा चर्च ब्वाइजले ३–१ स्कोरले झापालाई स्तब्ध बनायो । 

निर्धारित समयको खेलमा पहिलो हाफको तेस्रो मिनेटमा नै चर्च ब्वाइजका मिलन राईले गोल गरेका थिए भने १७ औं मिनेटमा अबोयमी फकुल्नेले दोस्रो गोल गरेका थिए । पहिलो हाफको २८ औं मिनेटमा चर्च ब्वाइजका अभिषेक लामाले आफ्नै गोलपोष्टमा आत्मघाती गोल गरेर झापालाई गोलको खाता खोलिदिएका थिए । दोस्रो हाफको २१ औं मिनेटमा एरोन थापाले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी बनाए । 

समय अभावको कारण सिधै टाइब्रेर गरिएको थियो । टाइब्रेकरमा झापाका एरोन थापाको पहिलो प्रहार नै चर्च ब्वाइजका गोलकिपर प्रमिजय गच्छदारले रोकेका थिए भने दोस्रो प्रहार प्रशान्त लक्समको मात्र गोलमा परिणत भयो । तेस्रो र चौथो प्रहार गर्न आएका राजेश दाहाल र गौरव धिमालको प्रहार पनि गोलकिपर प्रमिजयले रोकेका थिए । 

WhatsApp Image 2026-02-12 at 6.36.53 PM

चर्च ब्वाइजका सुमित श्रेष्ठको पहिलो प्रहार पनि झापाका गोलकिपर मनोज गुरुङले रोकेका थिए । तर, एरिक बिष्ट, रोहन कार्की र सुदिप श्रेष्ठको प्रहार गोलमा परिणत भएपछि चर्च ब्वाइज लगातार दोस्रो पटक बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको हो । यसअघि २५ औं सँस्करणमा पनि फाइनल खेलेको चर्च ब्वाइज एनआरटीसँग पराजित हुदै उपाधि विहिन भएको थियो । 

शनिबार हुने फाइनलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्नेछ । हिजो बुधबार भएको पहिलो सेमीफाइनल खेलमा प्लानिङ ब्वाइजले पोखराको लालीगुँरास एशोसिएशनलाई २–१ ले पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरिसकेको छ । 

भिडियो: